भगवान कोइरालाको अस्पताललाई बैंक अफ काठमाडौंको १ करोड सहयोग

डा. भगवान कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातै प्रदेशमा बन्न लागेको बाल अस्पतालका निम्ति बैंक अफ काठमाडौंले एक करोड रूपैयाँ* सहयोग गरेको छ।बैंकले आफ्नो २५ औं वार्षिकोत्सव अवसरमा बुधबार एक कार्यक्रममाझ काठमाडौं इन्स्टिट्युट अफ चाइल्ड हेल्थ अस्पतालको आइसियु निर्माणका लागि उक्त अस्पतालका संस्थापक अध्यक्ष डा. कोइरालालाई एक करोडको चेक हस्तान्तरण गरेको हो।

एक महिनाअघि सात प्रदेशमा बाल अस्पताल निर्माण गर्ने घोषणा गरेलगत्तै डा. कोइराला यसको निर्माण कार्यमा लागि परेका छन्। अस्पताल बनाउन बढी खर्च हुनुका साथै काम चुनौतीपूर्ण र कठिन रहेको कोइरालाले बताए।’सात प्रदेशमा बाल अस्पताल सुरू गर्न भनेजस्तो सजिलो छैन,’ उनले भने, ‘निर्माणका लागि धेरै खर्च लाग्छ। कोषहरू जम्मा भइरहेको छ। विभिन्न संघसंस्थाबाट सहयोग पनि पाइरहेका छौं।’

अनुमानित लगानीको आधाभन्दा बढी रकम जम्मा भएपछि आगामी असारदेखि निर्माण सुरू गर्ने योजना रहेको उनले बताए।वरिष्ठ मुटु रोग विशेषज्ञ डा. कोइराला लामो समयदेखि नेपाली स्वास्थ्य क्षेत्रमा आवद्ध छन्। उनले पेशागत रूपमा अनगिन्ती शल्यक्रिया गरिसकेका छन् र यसै क्रममा बाल स्वास्थ्यसँग जोडिएका थिए।

बाल स्वास्थ्य क्षेत्रको विकास सीमित भएकोले त्यसको स्तर बढाउन उनले बाल अस्पताल निर्माणको योजना बनाएका हुन्। उनका अनुसार नेपालमा सरकारीस्तरको एउटै मात्र कान्ति बाल अस्पताल भएकाले देशभर बाल अस्पताल निकै आवश्यक छ।

‘व्यवस्थापकीय हिसाबले सीमित काम हुनाले कान्ति अस्पतालको छुट्टै सीमा छ,’ डा. कोइराला भन्छन्, ‘यस्तो अवस्थामा एउटा मात्र अस्पतालले सबै बिरामी धान्न सक्दैन। हाम्रो उद्देश्य उनीहरूसँग प्रतिस्पर्धा गर्ने नभएर हरेक प्रदेशका सर्वसाधारणलाई कान्तिको मात्र भर नपर्न सहज गराउनु र स्वास्थ्य समस्या कम गराउनु हो।’

यो योजनामा सञ्चालन खर्चबाहेक अरु थुप्रै चुनौती भएको उनले बताए।’काठमाडौंभन्दा अन्य प्रदेशमा काम अघि बढाउन गाह्रो छ,’ उनले भने, ‘डाक्टर पठाउन नसक्ने, अस्पताल व्यवस्थापनमा समस्या आउने जोखिम बढी छ। त्यसैलेउपत्यकामा स्थापित भएपछि मात्र अन्य प्रदेशमा जाने हाम्रो सोच छ।’

उनले थपे, ‘सबै विषयका विशेषज्ञसहित एकै ठाउँमा कुशलतापूर्वक चलेर प्रभावकारी बनाउने हाम्रो चाहना हो। क्षमता र जनशक्तिअनुसार आवश्यकता धेरै भएकाले विस्तारै अघि बढ्ने आशा छ।’

सवा करोड बालबालिकाको जनसंख्या भएको देशमा उनीहरूको उपचारको लागि एकदम कम स्वास्थ्य केन्द्र रहेको उनी दाबी गर्छन्। यो अवस्थामा बाल स्वास्थ्य देशको गहन विषय हुनुपर्ने उनले बताए।

‘बालबालिका स्वस्थ रहनु र उनीहरूको बाँकी जीवन प्रभावकारी बनाउन निकै जरुरी छ,’ कोइराला भन्छन्, ‘देशको आर्थिक स्थिति बढाउन सहयोग गर्ने स्वस्थ जनसंख्याले हो। बालबालिका नै बिरामी भएर धेरै वर्ष बाँच्नु पर्यो भने उल्टै देश र परिवार गरिबी रेखाभित्र जान्छ।’

‘बुढो भएर बिरामी पर्दा त्यति धेरै आघात पर्दैन जति बच्चा बिरामी पर्दा हुन्छ,’ उनले भने, ‘बच्चाहरूको स्वास्थ्यमा लगानी गर्दा आर्थिक हिसाबले पनि धेरै लाभदायक हुन्छ। देशले पाउने फाइदा अन्य क्षेत्रमा भन्दा धेरै छ।’

यसमा कोइरालाले बाल स्वास्थ्य र देशको आर्थिक वृद्धिको दूरदर्शन मात्र गरेका छैनन्, बालबालिकासँग काम गर्दा हुने व्यक्तित्व विकासबारे पनि उल्लेख गरेका छन्।

‘मैले विभिन्न अस्पतालमा काम गर्दा थप एक वर्ष बालबालिकाको मुटु शल्यक्रियामा बिताएको छु,’ उनी भन्छन्, ‘बच्चाहरूसँग काम गर्दा, उनीहरूको चरित्र विकासलाई नियाल्दा छुट्टै आनन्द आउँछ। यो योजना सफल पार्नुको मूल्य र सन्तुष्टि बालबालिकालाई सहयोग गर्दा अतुलनीय छ।’

उनका अनुसार यी अस्पताल गैरनाफामूलक र समाजसेवामा विशेष केन्द्रित हुनेछ। जसमा कमजोर वर्गले पनि गुणस्तरीय उपचार गर्न पाउने छन्।

अस्पताल निर्माणका लागि सरकारले केही जग्गा भाडामा दिने सम्झौता भइसकेको छ। डिजाइनिङ र क्षेत्र विकासको चरण अघि बढिरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *