वर्तमान सरकार सबै नेपालीको हुन नसकेको पूर्वमन्त्री बडूको आरोप

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकार सबै नेपालीको हुन नसकेको आरोप लगाएका छन् ।प्रेस युनियन अछामले बुधवार साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘राज्यका संवैधानिक निकाय पनि सरकारको प्रभावमा परेर काम गरिरहेका छन्, जुन कुरा संविधानको मर्म विपरीत भइरहेको छ ।’

नेता बडूले भ्रष्टाचारीलाई कारवाही गर्नमा कांग्रेसको विरोध नभएको तर कानूनको प्रयोग विभेदपूर्ण भएकामा कांग्रेसको गम्भीर आपत्ति रहेको बताउँदै न्यायालयले सही र गलत छुट्याउला तर त्यहाँ पुर्‍याउने बाटो नै गलत भएको बताए ।सरकारले ल्याउने विकास बजेट सन्तुलित खालको नभएको भन्दै सुदूरपश्चिमको विकासका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने धारणा राखे । पश्चिम सेती, अपर कर्णाली जस्ता आयोजना समयमै बन्नुपर्ने उनको धारणा छ ।

नेता बडूले एमसिसी नेपालको विकासका लागि भएको बताउँदै प्रजातन्त्र संस्थागत गर्न विकास र समृद्धि पहिलो आवश्यकता रहेको बताए । कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्न किन नसकेको भन्ने प्रश्नमा बडूले सरकारका गलत कामको विरोध रचनात्मक रुपमा भइरहेको र कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निभाइरहेको प्रतिक्रिया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *