काठमाडौं– चीनको वुहानमा रहेका नेपालीको उद्दार गरि स्वदेश ल्याउनका लागि नेपाल एयरलाइन्सको वाइडबडी जहाज वुहान उडेको छ ।शनिबार अपरान्ह ४ बजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको वुहानको लागि प्रस्थान गरेको हो । वुहानबाट १ सय ८५ जना नेपालीलाई स्वदेश ल्याइने छ ।
विमान वुहानबाट आइतवार विहान सवा दुई बजे त्रिभुवन विमानस्थल आइपुग्नेछ । जहाजमा ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक र एक/एक जना इन्जिनियर र लोडमास्टर छन् ।चीनस्थित नेपाली दूतावासले हुबेई प्रान्तमा रहेका नेपालीहरूलाई स्वदेश पठाउन राजधानी वुहानमा भेला गरिसकेको छ ।
चीनबाट विमान आइतबार बिहान सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । अवतरण गरेपछि जहाजले ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्ने छैन ।चीनबाट ल्याइएका नेपालीलाई विमानस्थलमा कोरोना जाँच गरिने छ । कोरोनाको लक्षण देखिएकालाई टेकु अस्पतालको आइसोलेसनमा लगिने छ भने अन्यलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिरणमा राखिने छ ।
उनीहरुलाई दुई साता प्राधिकरणको क्वारेन्टाइनमा राखिने छ, त्यसक्रममा उनीहरुले आफ्ना अभिभावकसँग पनि भेटघाट गर्न पाउने छैनन् । क्वारेन्टाइन लागि सरकारले १ सय ९९ वेडको व्यवस्था गरिसकेको छ ।चीनबाट नेपाली नागरिकको उद्धारका लागि सरकारले १२ करोड रुपैयाँ बजेट छुट्ट्याइसकेको छ ।