दश महिनापछि कांग्रेसले देखेको ‘भ्रष्टाचार’

काठमाडौं। सरकारको सकारात्मक कामको समर्थन र खराब कामको निगरानी गर्ने प्रतिपक्षको धर्म हो। प्रमुख प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेस कमजोर रहेको भन्दै आलोचना भइरहेका बेला गत जेठमा कांग्रेसले सरकारका गतिविधिमाथि निगरानी गर्न भन्दै ‘छायाँ सरकार’ बनाएको थियो।

छायाँ सरकार गठन भएपछि झण्डै दश महिना छायाँ सरकारको बैठक नै बसेन। तर आइतबार छायाँ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सरकारले संविधान, विधि र प्रक्रिया मिचेर काम गरिरहेको, अनियमितता, महँगी र भ्रष्टाचार बढेको तथा जनताका पक्षमा काम गर्न नसकेको, मन्त्रीका गतिविधि दिनदिनै विवादित बन्न थालेको भन्दै कांग्रेसले ‘छाया सरकार’को स्वरूपलाई सशक्त बनाउने निर्णय गर्यो।

विशेष गरी निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा कमिशन मागेको अडियो टेप सार्वजनिक भएपछि कांग्रेसको छायाँ सरकार सक्रिय भएको हो।

कांग्रेसले सेक्युरिटी प्रेस खरिद प्रकरणमा प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडान राखेको छ। यसअघि सञ्चारमन्त्रीको राजीनामा माग्दै संसदका दुवै सदन अवरुद्ध गरेको कांग्रेसले संचारमन्त्रीको राजीनामापछि यो विषयमा प्रधानमन्त्री केपी ओलीले संसदलाई जानकारी दिनुपर्ने अडान राखेको छ। प्रतिनिधिसभा बैठक भोलि मंगलबार बस्दैछ। संभवत : भोलि नै प्रधानमन्त्रीले सो विषयमा जवाफ पनि दिनेछन्।

आइतबार बसेको छायाँ सरकारको बैठकमा सरकारका गतिविधि, पार्टीले संसद्मा खेल्ने भूमिका र समग्र राजनीतिक अवस्थासहितका विषयमा छलफल भएको थियो बैठकमार्फत कांग्रेसले ‘छायाँ सरकार’मा रहेका संयोजक र सदस्यहरूलाई जिम्मेवारीअनुसार सक्रियता देखाउन निर्देशनसमेत दिएको छ।

कांग्रेस संसदीय दलले सरकारका गतिविधिमाथि निगरानी गर्न भन्दै दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा छाया सरकारका रूपमा काम गर्न गत ६ जेठमा २१ जना संयोजक र ३७ जना सहयोगी सदस्य तोकेर स्वरूप तयार गरेको थियो।

हरेक मन्त्रालयस्तरीय समन्वय समितिमा संयोजक र दुई सदस्य छन्। उनीहरूलाई मन्त्रालयको काम कारबाहीको सूक्ष्म रूपमा निरगानी र खबरदारी गर्ने अधिकार छ। कांग्रेसबाट हाल प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी ६३ सांसद छन्। छायाँ सरकारमार्फत मन्त्रालयगत कामको निगरानी, निर्णय, संवैधानिक पद्धति, प्रक्रिया र जनआकांक्षालाई ध्यानमा राखेर काम गर्ने कांग्रेसले दाबी गर्दै आएको छ।

कांग्रेसको छायाँ सरकारमा दिलेन्द्रप्रसाद बडु गृह मन्त्रालयस्तरीय समितिको संयोजक छन्। यस्तै, मीनेन्द्र रिजाल अर्थ, नारायण खड्का परराष्ट्र र ज्ञानेन्द्रबहादुर कार्र्की ऊर्जा संयोजकको जिम्मेवारीमा छन्।

यसैगरी, उमाकान्त चौधरी सहरी विकास, किशोरसिंह राठौर युवा तथा खेलकुद, मीन विश्वकर्मा उद्योग, वाणिज्य तथा आपूर्ति र गगन थापा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालस्तरीय समितिको संयोजक छन्।

छायाँ सरकारको खानेपानी मन्त्रीमा सुजाता परियार, स्वास्थ्यमा पार्वती डिसी चौधरी, पर्यटनमा देवेन्द्रराज कँडेल, श्रममा डिला संग्रौला, संचार समितिको संयोजकमा बहादुरसिंह लामा छन्।

यसैगरी, भूमिसुधारमा लक्ष्मी परियार, संघीय मामिलामा अतहर कमाल मुसलमान, कृषिमा पद्मनारायण चौधरी, महिलामा उमा रेग्मी, रक्षामा भीमसेनदास प्रधान, भौतिक पूर्वाधारमा संजयकुमार गौतम, वनमा राजेन्द्र केसी र कानुन मन्त्रालयमा राधेश्याम अधिकारीलाई छाया मन्त्रीको जिम्मेवारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *